काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) बजार परिसूचक नेप्से २५.३१ अंकले वृद्धि हुँदा २०९७.५५ को विन्दुमा बन्द भएको छ ।
असार मसान्तमा आयकरको अन्तिम किस्ता बुझाउने समय भएकाले केही दिन यता सेयर बिक्रीको चाप बढ्दा नेप्सेमा गिरावट भएपनि आज भने १.२२ प्रतिशतले बढेर बन्द भएको छ ।
आज लगानीकर्ताको रोजाइमा हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रोपावर कम्पनीको सेयरमूल्य लगातार घट्दा निराश देखिएको उक्त क्षेत्रका लगानीकर्ता आज उत्साहित भएका छन् । हाइड्रोपावर उपसूचक आज सर्वाधिक ४.४१ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक १.७६ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै अन्य उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०६ प्रतिशतले बढेको हो । हिजो लगानीकर्ताको रोजाइमा परेको वित्त कम्पनी उपसूचक आज भने सर्वाधिक १.९५ प्रतिशतले गिरावट भएको छ । यस्तै होटेल तथा पर्यटन उपसूचक पनि ०.८७ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज बजारमा ५९ हजार ५३९ वटा कारोबारमा ८५ लाख ४ हजार ३७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७८ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३३ करोड ९४ लाखको कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख र सोल्टी होटेलको ९ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज कारोबार भएकामध्ये शिवश्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त र रिभर्स फल्स हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको इकाई मूल्य ९.९९ प्रतिशत, शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशत र नेशनल हाइड्रोपावरको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।
यता रावा इनर्जी लिमिटेको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य ५.२६ प्रतिशत र समृद्धि फाइनान्सको सेयरमूल्य ३.७२ प्रतिशतले गिरावट भएको छ ।