काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मालोचना गरेका कारण राजीनामा माग फिर्ता लिएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले प्रधानमन्त्रीले आफूले गल्ती गरेको स्विकार गर्दै भावनामा आएर गरेको कमजोरीलाई आगामी दिनमा नदोहो¥याउने प्रतिवद्धतासहित आत्मसमिक्षा गरेपछि राजीनामा मागबाट फिर्ता भएको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोलेको अभिव्यक्ति विवादास्पद बनेपछि एमालेले राजीनामाको माग गर्दै संसद अवरुद्ध गरिरहेको थियो । हिजोको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सो विवादित अभिव्यक्तिबारे नियतवस नभई भावनामा डुबेर त्यस्तो बोलेको भन्दै आत्मालोचनाका साथ आगामी दिनमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आफूहरुले राजीनामाको माग गरेकै कारण पनि प्रचण्डले संसदमा स्पष्टिकरण दिएको पनि नेता ज्ञवालीको तर्क रहेको छ । देशको संवेदनशील विषयमा बोल्दा प्रधानमन्त्रीलगायत सबैले सधै सचेत रहनुपर्ने एउटा शिक्षा पनि प्राप्त भएको उहाँको भनाइ रहेको छ ।
अर्को फरक प्रसंगमा नेता ज्ञवालीले आफूहरु अहिले पार्टीलाई शशक्त बनाउने र प्रमूख प्रतिपक्षको भूमिका निर्वाह गर्न मै केन्द्रित भएकाले कोहि पनि दलसँग एकता भन्नेतर्फ नलागेको स्पष्ट पार्नुभयो । साथै ०८४ को निर्वाचनतर्फ पनि अहिलेदेखि नै केन्द्रित भएको नेता ज्ञवालीले बताउनुभयो ।