काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । यो १ दशमलव ३८ प्रतिशतको वृद्धि हो ।
ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कुल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ ।
कुल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।
आज रावा इनर्जी विकास लिमिटेडको ९.९८ र सिटी होटेलको मूल्य ९.५१ प्रतिशतले वृद्धि भएको छ । यसबाहेक ‘१० प्रतिशत प्रभु बैंक डिबेञ्चर ८४’, सनराइन डिबेञ्चर ८३ सहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । मनकामना स्मार्ट लघुवित्त तथा माउन्टेन इनर्जीका लगानीकर्ताले उच्च मात्रामा कमाएका छन् ।
आज माथिल्लो तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो धितोपत्रको मूल्य ६.६५ प्रतिशतले घटेको छ । बीपीडब्यू लघुवित्त, लिबट्री इनर्जी, जोशी हाइड्रोपावरसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ ।
शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार एक सय ४३, सोल्टी होटेल १४ करोड आठ लाख ४८ हजार आठ सय २६, अरुण काबेली पावर १२ करोड एक लाख ९८ हजार नौ सय ३६ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार चार सय ४३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।