काठमाडौं । रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ ।
ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ । रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ ।
फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ । यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो ।
यता, सरकारले भने रोयटर्समा प्रकाशित समाचारको खण्डन गरेको छ । रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने भनेको ट्रिनिटी फर्मास्युटिकलको सम्झौतासँग सरकारको कुनै सहमति नभएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कुनै कम्पनीले बजार ओगट्नका लागि आपसी सम्झौता गरेको हुनसक्ने बताए । तर, त्यसका लागि मन्त्रालयमा कुनै छलफल नभएको उनको भनाइ छ ।