काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकालमा उर्जा क्षेत्रमा उदाहरणीय काम गरेर विदा भएका छन् ।
तर, कुलमानलाई नै पुनः प्राधिकरणको प्रमुखमा नियुक्त गर्नुपर्ने भन्दै उनका समर्थकहरु सडकमा उत्रिए । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका अनेक माध्यमबाट कुलमानकै पक्षमा जोडतोडको आवाज बुलन्द भए ।
उर्जा क्षेत्रमा उत्कृष्ट ‘पर्फमेन्स्’ देखाउने मात्र होइन, खानेपानी तथा सरसाफइ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्ने अन्य कुलमान पनि हाम्रो समाजमा नभएका होइनन् ।
उर्जा क्षेत्रका कुलमानले जसरी अँध्यारो नेपाललाई उज्यालोमय बनाइदिए, त्यही लय पछ्याउँदै खानेपानी र सरसफाइको क्षेत्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर–३ रूपन्देहीका हरिप्रसाद तिवारीले पनि पर्फमेन्स् देखाइरहेका छन् ।
तिवारी शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तिलोत्तमा–२ रूपन्देहीका अध्यक्ष हुन् । पहिलो कार्यकालका लागि ०६८ सालमा चौथो अधिवेशनबाट संस्थाको अध्यक्षमा निर्वाचित उनी ०७२ मा पाँचौं अधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भएका छन् । तिवारी संस्थाको अध्यक्षमा निर्वाचित भइसकेपछि रुपन्देहीमा खानेपानी र सरसफाइको मामलामा ठूलै परिर्वतन भएको स्थानीयहरु बताउँछन् ।
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा तिवारी आउनुअघि त्यस क्षेत्रका जनताले शुल्क तिरेर मात्र खानेपानी उपभोग गर्न पाउँथे ।
तिवारी पदीय जिम्मेवारीमा आएपछि न्यूनतम एकदेखि आठ हजार लिटरसम्मको १०२ रुपैयाँ तिर्नुपर्ने बाध्यताको अहिले अन्त्य भएको उनी बताउँछन् ।
तिवारीले पदीय जिम्मेवारी बहन गर्नुअघि उपभोक्ताको घरमा बिहान २ घण्टा र साँझ २ घण्टा मात्र पानी जाने गरेको थियो । तर, अहिले प्रत्येक उपभोक्ताको घर–घरमा २४ सै घण्टा पानी जाने व्यवस्था गरिएको र बिनामोटर नै प्रत्येक घरको ४ तल्लासम्म पानी आपूर्ति सहज रूपमा हुने गरेको उनले बताए ।
खानेपानीले कुनै क्यालोरी वा जैविक पोषण प्रदान नगरे पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार भएकाले यसैलाई ध्यानमा राखेर यसलाई अझ व्यवस्थित तरिकाले निरन्तर उपभोक्ताको घरघरमा पु¥याउन आफू लागिपरेको अध्यक्ष तिवारी बताउँछन् ।
‘मैले जिम्मेवारी सम्हाल्नुअघि ४ लाख ५० हजार लिटर क्षमता भएको खानेपानीको एक मात्र ओभरहेड ट्यांकी थियो’ तिवारी भन्छन्, ‘तर हाल उक्त क्षमताको अर्को थप दोस्रो ट्यांकी निर्माण सम्पन्न भइ सुचारुसमेत भइसकेको छ भने अर्को उक्त क्षमताकै तेस्रो ट्यांकी सम्पन्न भएर सुचारूको लागि अन्तिम चरणमा पुगÞेको छ ।’
यसैगरी, तिवारीले जिम्मेवारी सम्हालेपछिको अर्को मुख्य उपलब्धि हो, संस्थाको वित्तीय अवस्थामा उल्लेख्य सुधार । उनी आउनुपूर्व संस्थाको आर्थिक मौज्दात २ करोड ४८ लाख थियो भने हाल ३२ करोड बराबरको योजना सम्पन्न भएर पनि १७ करोड रुपैयाँ नाफामा संस्था छ ।
‘मैले जिम्मेवारी बहन गर्नुपूर्व खानेपानी संस्थाको वित्तीय अवस्था दयनीय थियो । तर, अहिले संस्था १७ करोड रुपैयाँ नाफामा छ भने ३२ करोड बराबरको योजना समेत सम्पन्न भएको छ’, तिवारीले भने ।
खानेपानी पाइपलाइन विस्तार र व्यवस्थापनको क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । १०२ किलोमिटर खानेपानी पाइपलाइन विस्तार भएकोमा तिवारी जिम्मेवारीमा आएपछि हाल थप ७० किलोमिटर पाइपलाइन विस्तार गरिएको छ ।
‘मैले जिम्मेवारी सम्हालिसकेपछि थप ७० किलोमिटर पाइलाइन विस्तार गरियो’ उनले भने, ‘अवस्थित रूपमा रहेका खानेपानीका पाइपलाइनहरुलाई सडकको मापदण्ड अनुसार भविष्यमा सडक र पाइप दुवैलाई कुनै असर र क्षति नगर्ने गरी ७० प्रतिशत् काम व्यवस्थित गरिएको छ ।’
शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा निर्वाचित भइसकेपछि वातावरणीय स्वच्छताका लागि पनि उल्लेख्य परिवर्तन भएका छन् ।
पैदल यात्रु, सवारी यात्रुको सहजताको लागि विभिन्न चोकमा नेपालकै पहिलो र नमूनायोग्य १३ वटा सार्वजनिक शौचालय निर्माण गरी प्रयोगमा ल्याइएको तिवारी बताउँछन् ।
‘बुटवल–भैरहवा सडकअन्तर्गत योगीकुटीदेखि ड्राइभर टोलसम्म पैदलयात्रु र सवारीयात्रुको सहजताका लागि विभिन्न चोकमा नेपालकै पहिलो र नमूनायोग्य १३ वटा सार्वजनिक शौचालय निर्माण गरेर प्रयोगमा ल्याइएको छ’ उनले भने, ‘यसको सरसफाइको नियमित व्यवस्थापनको लागि संस्थाले सम्पूर्ण जिम्मेवारी बहन गरेको छ ।’
त्यस्तै, सरसफाइको क्षेत्रमा पहिला विश्व सरसफाइ दिवसको अवसरमा मात्र औपचारिक रूपमा वर्षको एकपटक मात्र सरसफाइ गरिँदै आएकोमा हाल हरेक महिना अनिवार्य गरिएको तिवारीले बताए ।
अहिले तरल तथा ठोस फोहोर पदार्थलाई जथाभावी फाल्ने व्यक्तिलाई कडा कारबाही गर्ने गरिएको सुनाउँदै उनले यसले फोहोर व्यवस्थापन गर्न ठूलो सहयोग पु¥याएको बताए ।
संस्थाले सम्पूर्ण उपभोक्तालाई अबको १० वर्ष भित्रमा घरायसी प्रयोजनको लागि निशुल्क पानी उपलब्ध गराउने लक्ष्य लिएको छ ।
अहिले एकदेखि आठ हजार लिटर पानी खपत गरेबापत उपभोक्ताले (मिटर रिडिङ शुल्क २० रुपैयाँबाहेक) कुनै शुल्क तिर्नु पर्दैन ।
आगामि १० वर्षभित्र घरायसी प्रयोजनका लागि प्रयोग पानी पूर्ण रुपमा निशुल्क गर्ने संस्थाको लक्ष्य रहेको तिवारीले बताए ।
यसैगरी, ५ वर्ष भित्रमा सम्पूर्ण पाइपलाइन व्यवस्थित गरिसक्ने र १० वर्ष भित्रमा प्रत्येक अपुग क्षेत्रमा १ लाख क्षमता भएको ट्यांकी निर्माण गर्ने लक्ष्य पनि संस्थाको रहेको अध्यक्ष तिवारीले बताए ।
नेपालमा अधिकांश नियुक्ति व्यक्तिको योग्यता, क्षमता र कार्यकुशलतालाई भन्दा राजनीतिक भागबण्डाका आधार गर्ने गरिन्छ । केन्द्रदेखि तल्लो स्तरसम्मका रहेक नियुक्तिमा राजनीतिक भागबण्डाले नै प्राथमिकता पाउने गरेको गुनासो छ ।
अध्यक्ष तिवारी चार वर्षे कार्यकालका लागि ०७२ मा दोस्रो पटक चुनिएका हुन् । उनको कार्यकाल सकिसकेको भए पनि कोरोना महामारीका कारण संस्थाको महाधिवेशन रोकिएको छ । अहिले तिवारीले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । यही महिनाको अत्यतिर पदाधिकारी निर्वाचन गर्नेगरी समिति गठन गरेर तयारीसमेत भइरहको छ ।
तर, उपब्धिमूलक काम गरेर दुई कार्यकाल व्यथित गरिसकेका तिवारी पुनः निर्वाचित हुने सम्भावना भने छैन । नेपाल विद्युत प्राधिकरणका निवर्तमान एमडी कुलमान घिसिङले जस्तै तिवारीले पनि उत्कृष्ट पर्फमेन्स् देखाउँदै उपभोक्ताको मन जितेका छन् । उपभोक्ताले पनि उनको पुनःनियुक्तिलाई माग गरिरहेकै छन् । तर राजनीतिक भागबण्डाका कारण आफू आगामि कार्यकालका लागि पुनःनिर्वाचित हुने सम्भावना नरहेको तिवारी बताउँछन् ।
‘यहाँ नेताको चाकरी नगरी पदमा पुगिँदैन, नेताको चाकरी गर्दा उपभोक्तालाई खुशी पार्न सकिन्न’ तिवारीले भने, ‘उपभोक्ता मदेखि खुशी भए पनि प्रायः दलका नेताहरु मसँग रुष्ट छन् । त्यसैले म निर्वाचित हुने सम्भावना छैन ।’
पहुँच र राजनीतिक भागबण्डाबाट अरु व्यक्ति आएपछि संस्थाको अवस्था कस्तो होला भन्नेबारे उनले तिन्ता व्यक्त गरे ।