काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीष सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा ९० प्रतिशत पद आरक्षित गरेको बताउँदै पूर्ण समानुपातिक, समावेशी र सामूहिक नेतृत्वमा चल्ने जसपा दक्षिण एसियाकै उत्कृष्ट विधान भएको दल भएको स्पष्ट पार्नुभयो ।
पार्टीमा उपेन्द्र यादवले परिवार र एकलौटी नलादेको बताउँदै प्रवक्ता सुमनले बाहिर चर्चा भएजस्तो जसपा कमजोर नभएको तर्क गर्नुभएको छ । जसपाजस्तो व्यवस्थित, अनुशासित र सुसंगठित पार्टी अरु पार्टी नभएको उहाँको दावी छ । जसपा नेपालको विधान अधिवेसन आजदेखि सुरू भएको छ ।
आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
यस्तै अर्को फरक प्रसंगमा प्रवक्ता सुमनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र बन्द गराउनु सकारात्मक नभएको टिप्पणी गर्नुभएको छ । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्न आग्रह गर्दै उहाँले दर्शकको मनको सम्मान नगर्नु सनक मात्र भएको टिप्पणी गर्नुभएको छ ।
यस्तै ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको उहाँले भनाइ छ ।