काठमाडौं। प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नभएको बताउनु भएको छ ।आज प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सिंहले विमानस्थल बनाउने कुरामा आपत्ति जनाउनु भएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। उहाँले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताउनु भयो ।
सांसद सिंहले भन्नुभयो, “के भैँसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ?” सरकारलाई प्रश्न गर्नुभयो “विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोहीअनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि, निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैँसी चराउनका लागि एयरपोर्ट बनाउने ?”
सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेतसमेत गराउनु भयो ।