काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख६९ हजार २९० बजेट ल्याएको छ।
शुक्रबार(आज) भएको १०औं नगर सभामा उपप्रमुख किशोरी साहले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतलाई समेटेर उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
जसमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत रहेको छ भने पुँजीगततर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत छुट्याइएको छ ।
पुँजीगततर्फ उपमहानगरपालिकाको छुट्टै ५६ करोड ९५ लाख १८ हजार २९० रुपैयाँ अर्थात् ३.९५५ छ। एडीबी परियोजनाको लागि ५२ करोड ३३ लाख १७ हजार अर्थात् २२.९३ प्रतिशत रहेको उपमहानगरपालिकाका लेखापाल सुनिल साहले जानकारी दिनुभयो।
बजेट आन्तरिक स्रोतबाट ८० करोड ४३ लाख ११ हजार २९० रुपैयाँ, बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार र ऋणबाट ८ करोड ३७ लाख ६० हजार ल्याइएको छ।
नगर सभाको अध्यक्षता उपमहानगरप्रमुख मनोज कुमार साहले गरेका थिए भने उपमहानगरपालिकाका जनप्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, एसपी विश्वराज खड्का, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी लगायत कर्मचारीहरूको उपस्थिति नगर सभामा रहेको थियो।