काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले तत्काल नयाँ गठबन्धन नबन्ने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले सरकारले स्थायित्व नपाउने हो कि भन्ने चिन्ता बढे पनि तत्काल नयाँ गठबन्धन नबन्ने बताउनुभएको हो । बजेटका कारण सरकार ढल्ने अवस्था नभएको पनि उहाँको भनाइ छ ।
यस्तै अर्को प्रसंगमा उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतको फैसला मान्दिन भन्नु बालेनको उदण्डता भएको टिप्पणी गर्नुभएको छ ।
स्थानीय सरकारमा बसेको जिम्मेवार मान्छेले राज्य, कानुन, संविधान, व्यवस्था मान्दिनँ भन्न नमिल्ने बताउँनै नेता खड्काले यसरी देश नचल्ने र बालेनलाई कानुनी दायरामा ल्याउनुपर्ने तर्क गर्नुभयो ।
मेयर शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाउनुभएको थियो तर उच्च अदालत पाटनले हिजो भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उहाँको प्रशंसासँगै आलोचना पनि भइरहेको छ ।