काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले अहिलेको राजनीति सत्ता केन्द्रित भएको बताउनुभएको छ ।
जुन भु–बनोटमा नेपाल निर्माण भएको थियो, जसरी पुर्खाले मुलुकको निर्माण गर्नका निम्ती अगाडि बढेका थिए त्यसरी अहिलेका नेतृत्वले मुलुकलाई अगाडि बढाउन नसकेको बताउँदै भण्डारीले अहिलेको राजनीति केवल सत्ता केन्द्रित भएको तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद भण्डारीले केवल भाषण र कुराकानी गरेर मात्रै देशको विकाश नहुने स्पष्ट पार्नुभयो ।
युवायुवतीहरुलाई विदेश पठाउने र नेपालमा राजनीतिक गर्ने,दिनदिनै भााषण गर्ने प्रक्रिया एकअर्काको विरोधाभाष रहेको पनि नेता भण्डारीको भनाइ छ ।
यस्तै, माओवादीसहित ४ पार्टीले हिजो घोषणा गरेको समाजवादी मोर्चाबारेको प्रसंगमा नेता भण्डारीले नेपालमा समाजवादी चिन्तन, समाजवादी व्यहार र समाजवादी सोच निकै कम रहेको बताउँदै यो नारामा मात्रै सिमीत रहेको बताउनुभएको छ ।
आफू–आफ्नो परिवार सम्पन्न बन्ने, पार्टीमा आफ्नो गुट खोज्ने र सरकार सञ्चालनमा आफ्नो पैसा खोज्ने प्रवृती नेपालमा व्याप्त रहेको स्पष्ट पार्नुभयो ।
विभिन्न छरिएर बसेका पार्टीहरु–साना पार्टीहरु एक जुट भएर सामूहिक आवाज अगाडि बढाउँछौं भन्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै मोर्चा गठनमा बोलेका र गरेका प्रतिवद्धताहरु व्यवहारिकरुपमा पुरा गर्न सकोस भन्ने कामना व्यक्त गर्नुभएको छ ।