काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेट अन्तर्गत विनियोजन विधेयकमाथि छलफल जारी छ । आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेटमाथि आलोचनाको वर्ष भएको छ । प्रायः प्रतिपक्षी दलले बजेटमा समेटिएका विषयहरूप्रति आफ्नो सुझाव र आलोचना गर्छन् तर यो बजेटमा भने सबैभन्दा बढी सत्तापक्षका सांसदहरू आक्रोशित भएका छन् । यो बजेट नुवाकोट, गोरखा, डडेल्धुरा, चितवनमा बढी केन्द्रित रहेको भन्दै सिंगो संसद् आक्रोशित देखिएको छ । आज संसद्मा बोल्दै सांसद चित्रबहादुर केशीले यो बजेटमा किन छलफल गर्ने भनी प्रश्न गर्नुभयो ? गोरखा, डडेल्धुरा, नुवाकोटमा छुट्याइएको बजेट घटाएर खर्च कटौती गर्नुपर्ने उहाँको सुझाव छ ।
कांग्रेसका सांसद अर्जुननरसिंह केशीले बजेट जनप्रिय बन्न नसकेको बताउनुभयो । कहाँ कति छुट्याइयो भन्ने विषयले खास अर्थ नराख्ने भन्दै उहाँले बजेट जनमैत्री कति भयो भन्ने विषय प्रधान रहेको उहाँको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सत्ताको दास नभएको बताउनुभयो । यो बजेटलाई कुनैपनि हालतमा समर्थन गर्न नसकिने उहाँको भनाइ थियो । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सरकार भ्रष्टाचारको संरक्षणका लागि बनेको दाबी गर्नै जनजीविकाको सवालमा कामै हुन नसकेको जिकिर गर्नुभयो ।
सांसद प्रेम सुवालले राजनीति देशको सेवा गर्न हो भन्ने भाष्य निर्माण गर्न बजेटले नसकेको दाबी गर्नुभयो । एकै क्षेत्रमा धेरै बजेट छुट्याएर राजनीति लुट्नका लागि हो भन्ने सन्देश गएको बताउँदै उहाँले त्यस्तो कार्यमा संलग्नलाई जेल हाल्नुपर्ने बताउनुभयो ।
रास्वपाकी सांसद डा. तोसिमा कार्कीले यो बजेटले खेलकुदको क्षेत्रलाई समेट्न नसकेको जिकिर गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा एक लाख छुट्याएर खेल क्षेत्रको बेइज्जत भएको उहाँको दाबी छ ।
बजेटमाथि भइरहेको छलफलमा अधिकांश सांसदहरूले रोष प्रकट गरिरहेका छन् । मुलुक आर्थिक संकटमा गुज्रिरहेको बेला आफू र आफ्ना पोस्न मात्रै बजेट लक्षित भएको भन्दै आलोचना भइरहेको हो । जनतालाई राहत र सहुलियत दिने खाले कार्यक्रमलाई यो बजेटले समेट्न सकेन ।