काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा आफूले गरिरहेको अर्थमन्त्री प्रकाशशरण महतको आलोचनालाई उहाँको विरोध नभएको बताउनुभएको छ ।
'यहाँ अर्थमन्त्रीको विरोध गर्नुपरेको होइन। अर्थतन्त्रको जुन बेहाल भइरहेको छ। त्यसमा आँसु बगाएको हो हामीले। देशप्रति दुःख व्यक्त गरेको हो। यसकारण जनता र देशले बेहोर्नुपरेको बेहालप्रति हामीले दुःख मनाउ गरेको हो। सरकारलाई यसप्रति सजग गराउन खोजेको हो' उहाँले भन्नुभयो।
यही जेठ १५ गते प्रस्तुत बजेट वक्तव्यमाथि सुरु भएको सामान्य छलफलका क्रममा ओलीले प्रतिनिधि सभामा आफ्नो धारणा राखिरहनुभएको छ ।
उहाँले बजेट प्रस्तुती नै शुद्ध नहुने गरेको बताउनुभयो। 'कहाँकहाँबाट अशुद्ध पस्छ यसमा ? कहाँकहाँबाट बिचौलिया पस्छ यसमा ?' ओलीले भन्नुभयो । उहाँले हरेक क्षेत्रमा बिचौलिया पस्ने गरेको बताउनुभयो।