काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो समय थप ३ जनाको मृत्युु भएको छ । संक्रमणबाट धरान,चितवन र काठमाडौंमा एक–एक जनाको मृत्युु भएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै, कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा–१ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ । रावलमा कोरोना संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा हिजो साँझ अस्पतालमै मृत्यु भएको मृतकका आफन्त दिनेश रावलले बताउनुभयो ।
उता, मकवानपुरको हेटौंडा–९ घर भएका एक जना कोरोना संक्रमित ७४ वर्षीय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.दायाराम लम्सालद्वारा आज बिहान जारी विज्ञप्तिमा उल्लेख भएअनुसार गएराति उनको मृत्युु भएको हो ।
श्वासप्रश्वास र निमोनियाको समस्या भएका कारण उनी असोज ३ गते अस्पताल भर्ना भएका थिए। उनमा हिजो मात्रै कोरोना संक्रमणको पुुष्टि भएको थियो ।