काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से आज भने उतारचढावबीच दोहोरो अंकले बढेर बन्द भएको हो । आज बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकको बिन्दुमा बन्द भएको छ ।
आज सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । हिजो नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, आज भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाखमा झरेको छ । २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवं सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एसिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ । आज कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एसियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ ।
यता सनराइज फोकस इक्वीटी फण्डको इकाई मूल्य ६ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशत र माईखोला हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले घटेको छ ।