काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरस (कोभिड –१९) संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्नुभएको छ । आज महानगरका वडा नं. ७, ९ र ३० मा आयोजना गरिएको गुर्जोरोपण तथा वितरण कार्यक्रम शुभारम्भ गर्दै उहाँले अहिलेका हरेक व्यवहार पूर्णसजगताका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसका युवा नेता थापाले अहिलेको महामारीलाई अस्पतालहरुले धान्न नसक्ने अवस्था आइसकेकाले यसबाट जोगिन सर्वधारण आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
‘कोरोना संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसक्यो । सबै अस्पताल भरिएका छन् ।अस्पतालमा भएको यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर, गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’
महानगरका वडा नं. ७, ९ र ३० मा गुर्जो रोप्ने अभियान सुरु
आज महानगरका वडा नं. ७, ९ र ३० का हरेक घरमा गुर्जो रोप्ने अभियान सुरु गरियो । कार्यक्रमको थालनीमा स्थानीय ९७ वर्षीय आशाकाजी महर्जनलाई गुर्जोको विरुवा प्रदान गरिएको थियो । आजै रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ ।
कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कुलको सहकार्य थियो । गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराउनु भएको हो ।
कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताउनुभयो ।
रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीका अनुसार आज १ हजार विरुवा वितरण हुनेछन् । एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइनेछ ।