काठमाडौं । सुर्तीजन्य पदार्थविरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याएका ६ जना व्यक्ति तथा संस्था पुरस्कृत भएका छन् ।
विश्व धूम्रपानरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय स्वास्थ्य कर कोष सचिवालयले बुधबार आयोजना भएको विशेष समारोहमा ६ जनालाई स्वास्थ्य मन्त्री व्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा उपस्थित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
पुरस्कृत व्यक्ति तथा संस्थाको छनौट गर्न स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय पुरस्कार छनौट समिति गठन भएको थियो । त्यसैले गरेको सिफारिसको आधारमा आज पुरस्कार वितरण गरिएको हो ।
पुरस्कृत हुनेमा पत्रकार तर्फ हेल्थटुडे मासिक पत्रिकाका सम्पादक पदमराज जोशी रहनुभएको छ । उहाँलाई सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा समाचारका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।
यस्तै संस्थातर्फ एक्सन नेपालले पाएको छ । उसलाई सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्दै जनचेतनामुलक कार्यमा समेत योगदान गरेको भन्दै पुरस्कृत गरिएको छ ।
यस्तै अर्को संस्था नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पनि पुरस्कृत गरिएको छ । उसले सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि निरन्तर रुपमा अनुसन्धानमुलक कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो ।
यस्तै यसपटक सुर्तीजन्य पदार्थ विरुद्धको ऐन नियम कार्यान्वयन गर्ने सार्वजनिक निकायको रुपमा विराटनगर महानगरपालिका पुरस्कृत भएको छ । यसैगरी सुर्तीजन्य पदार्थको असर र प्रभावकार बारेमा निरन्तर वकालत गरेको भन्दै प्राडा रिता थापालाई पनि पुरस्कृत गरिएको छ ।
यस्तै कर कोष सचिवालयले सुर्तीजन्य पदार्थविरुद्धको कानून कार्यान्वयनमा निरन्तर काम गरेको भन्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसीलाई पनि पुरस्कृत गरेको छ ।
पुरस्कृत हुने प्रत्येकले नगद रु ५० हजार र कदर पत्र प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्री ब्लुम्बर्ग पुरस्कार तीन वर्ष अघि बाँढिएको थियो । तर त्यसयता रोकियो । यसपटक भने सचिवालयले रोकिएको पुरस्कारलाई निरन्तरता दिएको छ ।
यसअघि २०७६ साल १७ जेठका दिन यो पुरस्कार पहिलो पटक विभिन्न छ विधामा प्रदान गरिएको थियो । त्यसबेला पनि व्यक्ति तथा संस्थाले जनही ५० हजार रुपैयाँका दरले यो पुरस्कार प्राप्त गरेका थिए ।
सचिवालयका अनुसार सुर्तीजन्य पदार्थको आयात उत्पादन विक्री वितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति संघ संस्था कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्येबाट छ जनालाई अब हरेक वर्ष यसैगरी पुरस्कार दिईने छ ।