काठमाडौं । पूर्व.पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भएको छ । नारायणगढ बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ।
कमला –ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा– लौकही, पथलैया– नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ ।
नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उहाँले बताउनु भयो । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिनु भएको हो ।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उहाँले बताउनु भयो । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उहाँले बताउनु भएको छ ।