काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका सबैलाई तत्काल छानबिनमा ल्याउनुपर्ने बताउनभएको छ ।
सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव, पूर्व गृहमन्त्रीको परिवार, संवैधानिक निकायका प्रमुखलगायतको नाम पनि आएकाले कर्सलाई पनि नछोडि तत्काल सबैलाई छानबिनमा ल्याउन सरकारसँग माग गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले केपी शर्मा ओलीका स्वकीय सचिव, रामबहादुर थापाको परिवार, संवैधानिक निकायका प्रमुख, नेता नजिकका केही हाई प्रोफाइलको नाम आएको कुरा सत्य तथ्य हुन् या होइनन् यो कुरामा जनतालाई आश्वस्त पारेर सार्वजनिक गर्ने हिम्मत सरकारले राख्नुपर्ने बताउनुभयो ।
प्रहरीको छानबिनका आधारमा अदालतबाट न्याय निरुपण हुने विश्वासमा जनता रहेको बताउँदै उहाँले यसलाई अझ बृहत् रुपमा छानबिनमा ल्याउनुपर्ने माग गर्नुभयो ।
यस्तै अर्को फरक प्रसंगमा नेता खतिवडाले हरेक सांसदलाई संसदमा आफ्नो कुरा राख्ने अधिकार रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठले पार्टी उपाध्यक्ष र महासचिवलाई २ करोड ८४ लाख बुझाएर सांसद भएको विषयमा आफ्नो पार्टीका सांसद अजयकुमार चौरसियाले कुरा राख्नुभएको स्पष्ट पार्दै उहाँले कुरा उठ्ने बित्तिकै बुरुक्क उफ्रनु आवश्यक नरहेको तर्क गर्नुभएको छ ।