काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।
बुधबार(आज) प्रतिनिधि सभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताउनुभएको हो ।
प्रमुख सचेतक शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताउनुभयो। उहाँले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गर्नुभयो ।
ट्रेड युनियनहरूकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो। उहाँले मुलुकको अर्थतन्त्रको विकासका लागि लोकल मदिराको विक्रीवितरण र बाहिरबाट मदिरा ल्याउने काममा प्रतिबन्ध लगाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।
प्रमुख सचेतक शाहीले प्राकृतिक स्रोतको सदुपयोग गर्ने, जुडिबुटीको उत्पादन तथा विक्रीवितरणको काम किसानलाई गर्न दिने नीति ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो।