काठमाडौं । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो ।
यस्तै ,असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुुएको छ ।उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताउनुभएको छ ।
यता, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको गयराति मृत्यु भएको हो ।डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।
उता, डडेलधुरा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ ।