काठमाडौं। प्रतिनिधि सभा सदस्य डा अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएका थिएनन् । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर बैठकमा उठेका थिए ।
तर सभामुख देवराज घिमिरेले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलि बिरोध जनाएका हुन् ।
त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग गर्दै उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरेका थिए ।