काठमाडौं। लामो समयदेखि काठमाडौंको सडकलाई बास र आकाशलाई ओत बनाइरहेका मिटरब्याज पीडितहरु आक्रामक बन्दै गएका छन्। राज्यले पीडितको समस्या समाधानमा ध्यान नदिएको भन्दै उनीहरु आक्रामकसँगै निराश देखिएका छन् । तराईका विभिन्न जिल्लासहित नवलपरासीबाट न्याय माग्दै सिंहदरबार नजिक आइपुगेका उनीहरुको समस्या राज्यले नसुनेको पीडितको गुनासो छ ।
उल्टै राज्यले पीडितका घाउमाथि नुनचुक छर्केको उनीहरु बताउँछन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन मात्रै बाँडेर आफूहरुमाथि दमन गरेको मिटरब्याज पीडितहरुको ठहर छ। तराईका जिल्लालगायत देशभरीनै मिटरब्याज पीडितका समस्या विकराल बन्दै गएका छन्। मिटरब्याजीहरुलाई राजनीतिक संरक्षण भएकोले पनि कतिपय समस्या समाधान हुन सकिरहेको छैन। मिटरब्याज पीडितले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन समेत गरेका छन् ।
सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई सोमबार प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो। यता, गृहमन्त्री श्रेष्ठले भने पीडितलाई न्याय दिनका लागि कानून निर्माणको प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ । उहाँले आयोगले सशक्त रुपमा काम गरिरहेको पनि दाबी गर्नुभयो ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारले भने मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गरिसकेकाले सबै समस्या आयोगले समाधान गर्ने भन्दै मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिएर गाउँ फर्किन आग्रह गरेको छ ।