काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो लाग्ने गरेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।