काठमाडौं।मुलुकको आर्थिक अवस्था जटिलतातर्फ गइरहेको बताइरहँदा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सुधारका संकेत देखापरेको बताउनुभएको छ। आज पत्रकार सम्मेलन गर्दै अधिकारीले विदेशी सञ्चिती बढ्नुका साथै, विप्रेषणमा समेत सुधार आएको दाबी गर्नुभएको छ। चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्राको सञ्चिति बढेर १४ खर्बमाथि पुगेको छ ।
केन्द्रीय बैंकले जारी गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्टले गत असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति १५ दशमलव २ प्रतिशतले बढेर १४ खर्ब १ अर्ब २१ करोड पुगेको जनाएको हो। जबकी गत असार मसान्त, २०७९ मा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताउनु भएको छ। प्रचण्डले बैंकको ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगहरुसँग आफू छलफलमा रहेको बताउनु भएको हो ।
उहाँले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियाको अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताउनुभयो। तरलता कम गर्नका निम्ति अर्थतन्त्रका सूचकहरुलाई चलायमान बनाउन सरकारले हरदम प्रयास गरिरहेको उहाँको भनाइ छ ।
यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गर्नुभएको छ। उहाँले अर्थतन्त्रको अवस्था निकै नाजुक बनिरहेको बताउँदै उद्योगी, व्यवसायीका समस्यामा सरकार उदार बन्न नसकेको स्वीकार गर्नुभयो । उद्योगी, व्यवसायीलाई आश्वासन दिँदै उहाँले सरकार सधैँ तपाईंहरुको साथमा छ भन्दै ढाडस दिनुभयो।
गभर्नर र प्रधानमन्त्रीको एकै स्वर भएका बेला उद्योगमन्त्रीले अर्थतन्त्रबारे निराशा व्यक्त गर्नुभएको छ। मुलुकको गति निकै दयनीय बन्दै गएको छ। आज वैदेशिक ऋणको अवस्था हेर्दा २० खर्बमाथि पुगेको छ ।
प्रत्येक नेपालीले जन्मिने बित्तिकै आफ्नो टाउकोमा ७१ हजार ऋणको भारी बोकिरहेका छन्। निर्यात एक खर्ब मात्रै छ भने आयात १८ खर्ब बढी भइरहेको तथ्यांकले देखाउँछ। देशका युवाहरु विदेश गएर धानिएको अर्थतन्त्र मुलुक विकासको प्रमुख आधार होइन यसमा सुधार ल्याउन विभिन्न क्षेत्रमा आत्मनिर्भर बन्न जरुरी छ ।