काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेसँग पार्टी एकता गर्न सकिने तर कसैसँग विलय नहुने बताउनुभएको छ ।
आज पार्टी प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु कम्युनिस्ट शक्तिहरु एकताबद्ध बनाउनुपर्ने पक्षमा नै रहेको बताउनुभयो । उहाँले संविधान, संघीयता, गणतन्त्र र सुशासनको पक्षमा विचार मिल्ने र कम्युनिस्ट शक्ति एक बनाउने विषयमा आफूले कहिल्यै अस्वीकार नगरेको दाबी समेत गर्नुभयो ।
‘सबै कम्युनिस्ट शक्तिहरु एकताबद्ध हुन्, सही कम्युनिस्टका रुपमा अघि बढुन्, त्यस्ताहरुसँग हामी पार्टीगत एकता गर्न पनि चाहान्छौं । तर हाम्रो पार्टी कुनै पार्टीमा विलय भएर समाप्त हुनेवाला छैन’, अध्यक्ष नेपालको भनाइ छ । उहाँले कम्युनिस्ट आन्दोलनलाई नयाँ चरणबाट अघि बढाएको भन्दै त्यसको महत्त्व हिजो केही होइन भन्नेहरुले अहिले बिस्तारै बुझ्न थालेको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने, संविधान गणतन्त्र र संघीयता, भ्रष्टाचारविरुद्धमा बारेमा मिलेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै जनताका पक्षमा काम गर्न हातेमालो गर्दै अघि बढ्न चाहेको बताउनुभयो ।