काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताउनुभएको छ।
सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गर्नुभयो ।
‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’
राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताउनुभयो । व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उहाँको धारणा छ ।
उहाँले आफूलाई अभिनन्दन भाव प्रकट गरेकामा समर्थकहरूलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो। सो क्रममा राजावादीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।