काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीका नेताहरुलाई देउवा वा कोइरालाको ‘ट्याग’ लगाउन नहुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले पार्टीका नेताहरुलाई शेरबहादुर देउवा वा शेखर कोइरालाको ‘ट्याग’ लगाउन नहुने तर्क गर्नूभएको छ ।
उहाँँले भन्नुभयो, अब पार्टी सभापति, उपसभापति, शेखर कोइराला लगायतका सबै नेताहरु बसेर लजिकल इन्डमा पुर्याउनुपर्छ । आखिर जाने पार्टीकै साथी हो । अब शेरबहादुर र शेखरको ट्याग लगाउन छाड्नुपर्छ । यो वा त्यो गुटको नामा राम्रा मान्छेलाई निमोठ्नुहुँदैन । सत्ताका लागि कांग्रेस झगडा गर्छ भन्ने सन्देश बाहिर जानुहुँदैन ।’
पार्टीभित्र मन्त्रीका निम्ति झगडा गर्न नहुने पनि उहाँको भनाइ छ । टुटेर गएको गठबन्धन धेरै मिहिनेतपछि फिर्ता आएको बताउँदै उहाँले कांग्रेसले राष्ट्रपतिसँगै केहि मन्त्री पनि पाएकाले अहिले मन्त्रीका लागि झगडा गर्न नहुने कुरामा जोड दिनुभएको छ ।
यस्तै नेता खतिवडाले पार्टी सन्तुलन कायम राखेर क्षमता र योग्यताका आधारमा निर्णय गर्ने परिपाटी आवश्यक रहेको बताउनुभयो ।