काठमाडौं । एनआइसी एसिया बैंकले अनलाइनबाटै भौचर भर्न सकिने सुविधा उपलब्ध गराएको छ । देशको बैंकिङ्ग इतिहासमै पहिलोपटक यस्तो सेवा उपलब्ध भएको बैंकका प्रमुख सूचना अधिकारी नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले घर वा कार्यालयबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो अथवा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गएर चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् ।
उक्त लिंकभित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाइनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भइ बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने सूचना अधिकारी पाण्डेले दाबी गर्नुभएको छ ।
चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने सो सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल अकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।
त्यस्तै, मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने तथा मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबिबिएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागिसमेत आइसर्भिस मार्फत सेवा दिइरहेको छ । उक्त सेवाहरू आइसर्भिसमार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।