काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सहज नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका राईले पछिल्लो समय देशको राजनीतिमा भइरहेको खेलको माध्यमबाट बनेको समिकरणबाट राष्ट्रपतिमा निर्वाचित पौडेलको काँधमा धेरै ठुलो चुनौती र भार थोपरिएको बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले आगामी दिनमा नयाँ उत्साहबाट प्रस्तुत गर्दै राष्ट्र र नेपाली जनतालाई अभिभावकत्व प्रदान गर्न सक्ने नेता राईले विश्वास र अपेक्षा व्यक्त गर्नुभएको छ ।
यस्तै नेता राईले निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नो दुई कार्यकालमा सफलतापूर्वक गर्विलो इतिहास रचना गरेको बताउनुभएको छ । यस्तै भण्डारीले राष्ट्र र नेपाली जनतालाई वास्तविक भावमा अभिभावकत्व प्रदान गरेको पनि नेता राइको दाबी छ ।
भण्डारीले आफ्नो कार्यकालमा संसद विघटनमा निभाएको भूमिका, नारी उत्थान, हजारौं सुत्केरी र शिशुको जीवनरक्षकमा गरेका काम, कोभिडविरुद्ध विश्व संवाद र खोप पहल, विश्व मञ्चमा नेपालको गर्विलो उपस्थिति, सनातन धर्म संस्कृति र सम्पदा संरक्षण र नागरिकता विधेयक फिर्तालगायतमा उहाँको भूमिका र कार्य महत्वपूर्ण रहेको नेता राईले स्पष्ट पार्नुभयो ।