काठमाडौं । भारतीय प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष र चिनियाँ महिलालाई पक्राउ गरेको छ । दिल्ली प्रहरीले आज यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ती नेपाली र चिनियाँ नागरिकले भारतीय स्वतन्त्र पत्रकार राजीव शर्मासँग काम गरेको प्रहरीको आरोप छ । शर्मासँग मिलेर जासुसीको जालो खडा गरेको प्रहरीको दाबी छ ।
यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले पक्राउ गरेको थियो । उनीविरुद्ध सुरक्षाका महत्वपूर्ण दस्तावेजहरुको जासुसी गरेको अभियोग थियो ।
प्रहरीका अनुसार नेपाली युवाले ती दस्तावेजहरु चिनियाँ महिलालाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेका थिए ।
पक्राउ परेकी चिनियाँ महिला र नेपाली पुरुषको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि, तस्बिर भने बाहिर आएको छ ।