काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा १.२१ प्रतिशतले गिरावट हुँदा २ महिनापछि २ हजार अंकको बिन्दुबाट तल झरेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) बजार परिसूचक नेप्से २१.४४ अंकले गिरावट भएर १९९५.४९ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकममा पनि संकुचन भएको छ । आज सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमूलक उपसूचक २.६५ प्रतिशतले गिरावट भएको छ ।
आज नेप्सेमा २६ हजार ४५४ वटा कारोबारमा ३७ लाख २९ हजार ९७६ कित्ता शेयर कारोबार हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये अपर तामाकोसी हाइड्रोपावरको ८ करोड ७२ लाख ३७ हजारको कारोबार भएको छ ।
यस्तै शिवं सिमेन्टको ८ करोड ४० लाख ८० हजार र हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख ४० हजारको कारोबार भएको छ ।
आज बजारमा २१६ कम्पनीको शेयर कारोबार भएकोमा १८९ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको शेयर मूल्य स्थिर छ । आज कारोबार भएकामध्ये आदर्श लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा वाराही हाइड्रोपावरको ४.५८ प्रतिशत र खप्तड लघुवित्तको शेयर मूल्य २.७४ प्रतिशतले वृद्धि भएको छ ।
बोटलर्स नेपाल तराईको शेयर मूल्य ९.६१ प्रतिशतले गिरावट हुँदा सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ५.७६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ५.४४ प्रतिशतले गिरावट भएको छ ।