काठमाडौं । एनआईसी एशिया २५ वर्षअघि विराटनगरमा स्थापना भएको क्षेत्रीय बैंक अहिले मुलुकको अग्रणी बैंक बनेको छ ।
क्षेत्रीय स्तरको बैंकबाट सुरु भएको यो बैंकमा अहिले झण्डै ४० लाख ग्राहक पुगेका छन् । बैंकमा प्रत्येक महिना १ लाखका दरले नयाँ ग्राहकहरु थपिइरहेको बैंकले जनाएको छ ।
डिजिटल प्लेटफर्ममा पनि बैंक सबैभन्दा लोकप्रिय छ । यस बैंकको मोबाइल एप २२ लाख ६३ हजारभन्दा धेरैले डाउनलोड भएर वाणिज्य बैंकहरुमध्ये अग्रस्थानमा रहेको छ । यस बैंकको विभिन्न बचत खातामा प्राप्त बीमा सुविधाबाट २०७९ पौष महिनासम्म २ हजार ७८ जनाले बीमा वापतको ७ करोड ७७ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।
‘बैंकले ल्याएका हरेक योजना ग्राहकको हितको लागि भएकाले नेपालको सबैभन्दा धेरै मन पराइएको बैंक बन्न सफल भएको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताउनुभयो ।
२०५५ साउन ५ गते एउटा शाखाबाट शुरु गरेको एनआईसी बैंकमा १९ जना कर्मचारी र ८ करोड १२ लाख ५० हजार चुक्ता पुँजीसहित विरानटनगरमा केद्रीय कार्यालय रहेर एक क्षेत्रीय बैंकको रुपमा शुरुवात भएको थियो ।
स्थापना भएको छोटो समयमा नै बैंकलाई ग्राहकहरुले रुचाएका थिए । बैंकले आर्थिक वर्ष २०५६–०५७ मा पहिलो पटक १७.५ करोडको प्राथमिक शेयर निष्कासन गर्दा ८ गुणाभन्दा बढीको आवेदन परेको थियो । यस शेयर निष्कासनले तत्कालीन अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आवेदन रकम संकलन भएको प्राथमिक शेयर निष्कासनको इतिहास समेत बनाएको थियो ।
एनआईसी बैंकले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेको थियो । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस एनआइसी एसियाले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
बैंकले उपलब्ध गराएको विभिन्न निःशुल्क सेवा, छुट, आकर्षक ब्याज, ८४ लाखसम्मको बीमा, बचतभन्दा दश गुणा बढी पूर्वस्विकृति कर्जा, प्रिभिलेज बैंकिङ जस्ता अनेक सुविधा उपलब्ध गराएको छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । मुलुकका विभिन्न ठाउँमा ३५९ शाखा, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ सञ्चालनमा छन् ।