काठमाडौं । कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला आज डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएकाले ॐ अस्पतालबाट डिस्चार्ज भएको जानकारी सामाजिक सञ्जालमार्फत उहाँ आफैंले दिनुभएको हो ।
आफ्नो स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा संग्लग्न चिकित्सकहरुलाई धन्यबाद दिँदै कोइरालाले अझै केही दिन होम आइसोलेसनमै रहने जानकारी दिनुभएको छ ।
‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी–दाजुभाइ, नेता–कार्यकर्ता ,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु’, स्वकीय सचिव भरत तिवारीसँग अस्पताल अगाडि खिचेको तस्बिर सेयर गर्दै कोइरालाले भन्नुभएको छ, ‘मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशनमै रहने छु ।’
