काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनु भएको छ ।
आज बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘आज जनयुद्धको क्रममा प्रथम पटक बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो।
२००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिदहरू हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी गरिरहेको छ।’प्रधानमन्त्रीको भनाई छ ।
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने बताउनुभयो ।