काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरको महामारी नियन्त्रणमा सरकारले गरेको काम उत्साहजनक भएको बताउनुभएको छ।
आज संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामको समीक्षा गर्दै सरकारको काम उराठलाग्दो नभई उत्साहजनक रहेको दावी गर्नुभएको हो।
ओलीले कोरोनाको महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभयो । कोरोना महामारी रोकथामका लागि सरकारले गरेको काम उत्साहजनक भएको भन्दै अहिले ४७ वटा प्रयोगशाला विस्तार गरेर प्रतिदिन २३ हजारसम्म परीक्षण गर्न सकिने अवस्थामा पुग्नु सरकारको सफलता रहेको उहाँले दावी गर्नुुभयो ।
यस्तै उहाँले संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताउनुभएको छ । सरकारले गरेका कामकारवाहीको प्रस्तुति दिनुुभएका प्रधानमन्त्री ओलीले जता हावा बग्छ त्यतै बरालिने लोकतन्त्र नभएको भन्दै लोकतन्त्र विधिको शासन भएकाले मर्यादित र अनुशासिन प्रणाली भएकोमा जोड दिनुुभयो ।
प्रधानमन्त्रीले पहिलोपटक चैत ११ गतेपछि लकडाउन यता जनजीवन सामान्य हुन नसकेको भन्दै त्यसका कारण विकास निर्माणका धेरै कामहरु सम्पन्न हुन नसकेको पनि बताउनुुभएको छ । कोरोना नियन्त्रणमा आएपछि मुलुकको आर्थिक अवस्था विस्तारै पुरानै लयमा फर्कने विश्वास प्रधानमन्त्रीको रहेको छ । टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, समाभुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।