काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गर्नुभएको छ ।
उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो निर्विकल्प भएकोले काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर महर्जनले आज मेयर बालेनलाई पत्र नै बुझाउनुभएको छ ।
मेयर महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रो रेलका लागि लिने नेतृत्वमा ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपत्यकाका अन्य पालिकासँगको हातेमालो पनि अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताउनुभयो। जवाफमा काठमाडौं महानगरपालिकाका मेयर बालेनले उपत्यकाका लागि मेट्रो रेल अत्यावश्यक भएको महसुस आफूले पनि गरेको र अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा योजनाबद्ध रुपमा छलफल सुरु गर्ने प्रतिक्रिया दिनुभयो ।
उहाँले महानगरले मेट्रोका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको र दीर्घकालीन रुपमा हेरेर कम्तिमा ५० वर्षको योजना बनाउनुपर्ने बताउनुभयो ।उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तर्राष्ट्रिय समूह ‘वृहत काठमाडौं उपत्यका मेट्रो रेल प्रबद्र्धन समूह’ केही समयदेखि कार्यरत छ ।
सो समूहले काठमाडौं उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दीर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको विकासको रणनीतिक अवधारणापत्र समेत तयार गरेको छ । मेयर महर्जन उक्त अवधारणा पत्र सहित बालेन भेट्न पुग्नुभएको थियो ।