काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आसन्न आठौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई लिएर कडा नीति अख्तियार गरेको छ । महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्दै प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र महासचिव सुवास केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न पार्नका लागि सम्पूर्ण साधारण सदस्य, आजीवन सदस्य र शुभेच्छुकज्यूहरु, प्रत्येक जिल्ला र प्रदेशबाट पाल्नुहुने प्रतिनिधि, पर्यवेक्षकज्यूहरुलाई यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो गौरवमय संस्था विशुद्ध सामाजिक संस्था भएको, नाफाको व्यापारबाट बाहिर रहेर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केवल कलाकारको हीत र कलाको संरक्षणका लागि मात्र सक्रिय रहेको कुरापनि यहाँहरुलाई अवगत गराउन चाहान्छौँ । तसर्थ, कुनैपनि प्रतिनिधि, उम्मेदवार या संस्थाले महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग आर्थिक लेनदेन गरेको वा लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जो कोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधिनमा रही कडा भन्दा कडा कारबाही गर्ने व्यहोरा पनि जानकारी गराइन्छ ।’
प्रतिष्ठानको आठौँ राष्ट्रिय महाधिवेशन धादिङबेशीमा फाल्गुन १२, १३ र १४ गते हुँदैछ । महाधिवेशले नयाँ नेतृत्व चयन गर्नेछ । सातै प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति र विदेश विभागको अधिवेशनलाई सौहार्दपूर्ण तरिकाले सम्पन्न गरेको प्रतिष्ठान अहिले आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीत बनेको छ ।
