काठमाडौं । लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलले लघुवित्तका कर्मचारीलाई वित्तीय शिक्षा दिनुपर्ने आवश्यक देखिएको बताउनुभएको छ । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले गरेको ‘संकटमा लघुवित्तः कारण र समाधान’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
लघुवित्तका कर्मचारीले ऋणीलाई दबाब दिने गरेको भन्दै उहाँले यस्ता कार्य गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. भरत थापाले अहिले लघुवित्तले उद्देश्यानुसार काम नगरेको बताउनुभयो । लघुवित्तको नियमन र अनुगमन पनि नगरिएको भन्दै उहाँले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दनदेव पन्थले लघुवित्तले समाजको गतिविधि नियालेर लगानी बढाउनुपर्ने र त्यहीअनुसार काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले केही लघुवित्त वित्तीय संस्थाले सदस्यलाई घर घरमा गएर कर्जा दिँदा अहिले समस्या देखिएको बताउनुभएको छ ।
उहाँले केही वर्षअघि देखिको समस्याको ‘बाइप्रडक्ट’ अहिले देखापरेको बताउनुभयो । कम्पनीका कर्मचारीले नबुझाएको र सदस्यले पनि बुझ्न नचाहेका कारण समस्या भएको उहाँको भनाइ छ । एकै जना व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिँदा समस्या देखिएको भन्दै उहाँले अब राष्ट्र बैंकले एक जना सदस्य तीन वा चारवटा कम्पनीको मात्रै सदस्य बन्ने व्यबस्था गर्न लागेको बताउनुभयो ।
अरुका कुरा सुनेर कर्जा नलिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।