काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अघि सार्नै नसक्ने दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता थापाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि सार्ने भन्ने कुरा यता फायरिङ गर्ने, उता निशाना लगाउने चालबाजी मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको मितिसम्म पार्टी विभाजनकारी माधव नेपालले कुन रियलाइजेसन गर्नुभएको छ र ? एमालेले कुनै खेताला राष्ट्रपति होइन, आफ्नो पार्टीकै उम्मेदवारलाई राष्ट्रपति बनाउँछ । सबै चिज आजको स्थितिमा रहेको अवस्थामा त्यो सम्भव छैन । प्रचण्डले माधव नेपालको नाम लिनुभयो कि लिनुभएन ? न प्रचण्डले भन्नुभएको छ, न शेरबहादुरले भन्नुभएको छ । तपाईंहरूले नै न्युजको स्कोप बनाउन खोजेको हो कि?’
एमाले नेता थापाले कांग्रेसले राष्ट्रपतिका निम्ति प्रचण्डसँग कान समातेर उठबस गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले राष्ट्रपतिका निम्ति प्रस्ताव राख्नु कुन आश्चर्य भयो र ? प्रधानमन्त्रीको समय लियो होला, अनेक याचना, अनुनय, विनय ग¥यो होला । केही जानेनौं, बिरायौं भनेर कान समातेर उठबस गर्यो होला । राष्ट्रपति मछली बजारमा बिक्रीमा राखिएको पद हो र ?’ उहाँले राष्ट्रपति संस्थालाई नै बदनाम गर्ने षडयन्त्र भइरहेको आरोप पनि लगाउनुभयो ।
साथै उहाँले दुइटा नाउमा खुट्टा हाल्दा दुर्घटनामा पर्ने चेतावनी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यस्तो अनैतिक, अराजनीतिक र गलत अनि दिग्भ्रमित कुरा गर्न मिल्छ ? एउटाको सिता खायो, अर्कोको गीता गायो गर्न मिल्छ ? पुरानो गठबन्धन ब्युँताउने कोसिस होला तर मैले सम्भव देखेको छैन । प्रचण्ड ७६(२) बाट बाहिर गए त्यसपछि ७६(३) को सरकार बन्छ । त्यसैले पुष्पकमल दाहाल प्रचण्ड एमालेलाई राष्ट्रपति दिनै पर्ने नैतिक बन्धन र लक्ष्मणरेखामा हुनुहुन्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवालाई तपाईंहरू राष्ट्रिय सहमतिको राष्ट्रपति मान्ने कि नमान्ने भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भन्नुभयो, ‘कांग्रेसको उम्मेदवार को हो ? रामचन्द्र सिटौला, कृष्ण सिटौला कि को ? पुस १० को सहमति अनुसार एमालेकै निम्ति राष्ट्रिय सहमति बनाऊँ न । शेरबहादुर देउवाको नाम निर्णय प्रक्रियामा सहभागी नगराइने रमिते महामन्त्रीले लिइरहनुभएको छ । शेरबहादुरलाई राष्ट्रपति दिए हामी नेतृत्वमा आउँछौं, भन्ने लाग्या होला । यसलाई त देउवाले आफ्नो विरुद्धको प्रस्ताव ठान्नुहुन्छ । शेरबहादुर राष्ट्रपति हुने क्यारेक्टर वा क्षमताको मानिस हो र ?’
एमालेले विष्णु रिमाललाई राष्ट्रपतिका रुपमा अघि सार्ने सम्भावना भएको पनि उहाँले औंल्याउनुभयो ।