Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  

  • सोमवार, फाल्गुण ८ २०७९

  • 659
    SHARES

  • राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  
    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि सोमबार(आज) पदाधिकारी बैठक बोलाएको हो ।  माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज अपराह्न ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दै छ । 
     
    फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । हिजो साँझ कांग्रेसमा शीर्ष नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिनुभएको थियो ।
     
    २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।  
     
    पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ ।
     
    एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइरहेको छ । यसले सत्ता गठबन्धनमा खटपट पैदा भएको छ । उक्त परिस्थितिमा कांग्रेस र माओवादीबीचको छलफलले राजनीतिले नयाँ कोर्स लिने आंकलन गरिएको छ ।


    सोमवार, फाल्गुण ८ २०७९०६:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij