काठमाडौं । निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ । आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन लागेको हो ।
२०७३ सालदेखि ७ फागुनदेखि निर्वाचन दिवसको रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा आयोगले यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
आयोगले नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तर्संवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।
यसैगरी आयोगको कान्तिपथस्थित परिसरमा आज हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् ।
साथै आयोगले निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षमा अग्रसर हुने प्रतिबद्धता पनि जनाएको छ ।
दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देशमार्फत निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिनुभएको छ ।
विसं २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै दिवस मनाउन लागिएको हो । यसैवर्ष गएको वैशाख ३० गते पालिकाको र मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव एकै चरणमा भएको थियो । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हुँदैछ ।
नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।