काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाँच तारे होटलमा बसेको बेलाको खर्च विवरण युवाहरुले माग गरेका छन् ।
लोकतन्त्रवादी युवाहरुको संगठन युथ कंग्रेसले महानगरपालिकाका सूचना अधिकारीसँग मेयर शाक्य पाँच तारे सोल्टी होटलमा बसेको बेलाको हिसावकिताव मागेका हुन् ।
उहाँ होटलमा बसेको खर्च महानगरपालिकाले व्यहोरेको छ की उहाँ आफैले व्यहोर्नु भएको छ भन्ने विवरण उपलब्ध गराउन माग गरेको युथ कंग्रेसका केन्द्रीय सदस्य शंकर कुइँकेलले जानकारी दिनुभयो ।
सूचनाको हक सम्बन्धिको निवेदनमा विगत ६ महिनामा महानगरका कर्मचारी र पदाधिकारीहरुले कोरोनाको उपचार र सुरक्षाका सम्बन्धमा खर्च गरेको विवरण समेत मागिएको छ।
मेयर शाक्यमा १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोरोना भाइरसको मध्यम खालको लक्षण देखिएको थियो।उहाँ सोल्टी होटलमा १२ दिन बसेर बाहिरिनु भएको थियो ।
कोरोना भाइरसबाट संक्रमित भएपछि मेयर शाक्य पाँच तारे होटलको आइसोलेसनमा बसेको भन्दै सर्वत्र आलोचना भएको थियो । उहाँले जनताको कर माथी अनावश्यक रजाई गरेको रुपमा व्याख्या गरिएको थियो ।
युथ कांग्रेस नेपालका संयोजक सचिन तिमल्सेनाको नेतृत्वमा गएको टोलीले विवरण माग गरिएको निवेदन दर्ता गराएको हो ।
युवाहरुको यस संगठनले गत ३ वर्षदेखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको केन्द्रीय शंकर कुइँकेलले जानकारी दिनुभयो ।
पछिल्लो समयमा भएको एनफ इज एनफ नाराका साथ भइरहेको आन्दोलन, माइतीघर केन्द्रीत कतिपय आन्दोलन, विक्रिति विसंगति विरुद्धका अरु धेरै आन्दोलनहरुमा यस संगठनले नेतृत्व गर्दै आएको छ ।
आफुहरुले युवाहरुलाई राजनीतिमा आकर्षित गर्ने र लोकतन्त्रलाई बलियो बनाउनेमा आफ्ना कार्यक्रमहरुलाई केन्द्रीत गर्ने गरेको केन्द्रीय महामन्त्री महेश दुलालले बताउनुभयो ।