काठमाडौं। सञ्चार गृह बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन)को दिल्ली र मुम्बई कार्यालयमा भारतको आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ। ६० देखि ७० जना आयकर विभागको टोली छापामारीमा संलग्न रहेको जानकारी छ।
बिभागको सो टोलीले सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर पठाएको छ। केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो। उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो।
मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्र सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।
भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।
यद्यपि, यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएको छ ।हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।