काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले ‘जनयुद्ध दिवस’मा सरकारले दिएको सार्वजनिक बिदाको विरोध गर्नुभएको छ । उहाँले सरकारको यो निर्णयलाई दुर्भाग्यपूर्ण निर्णय भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लोहनीले भन्नुभयो, ‘यो निकै दुर्भाग्यपूर्ण निर्णय हो । २०५२ मा शेरबहादुर देउवाजी प्रधानमन्त्री, म परराष्ट्रमन्त्री हुँदा माओवादीले भर्खर सुरु भएको प्रजातान्त्रिक व्यवस्था उल्टाउन ४६ बुँदे माग अघि सारेको थियो । त्यसमा हिन्दु पहिचान र संवैधानिक राजसंस्था फाल्ने वा संघीयता ल्याउने कुनै पनि बुँदा थिएन । १७ हजार नेपाली जनता मरेको दिनलाई धूमधाम मनाउनु भन्ने निर्णय हास्यास्पद हो,।’
फागुन १ जनयुद्ध दिवसभन्दा पनि जनहत्या शृंखलाको सुरुआती दिन भएको आरोप पनि उहाँले लगाउनुभयो । डा. लोहनीले भन्नुभयो, ‘नेपाली जनताले यसलाई जनयुद्ध दिवस मान्दैनन् । मान्नुपर्ने कारण पनि छैन । त्यो जनयुद्ध दिवस होइन कि जनहत्या शृंखलाको सुरुआतको दिन थियो । संसद्मा जम्मा ३०, ३२ सिट भएको पार्टीले यस्तो हिम्मत गर्नु भनेको अधिनायकवादी चरित्र हो । अब बेपत्ता आयोगको औचित्य रहेन । अन्तर्राष्ट्रिय समुदायलाई हत्या हिंसा वैधानिक थिए, मारिनु उचित थियो भन्ने सन्देश गयो ।’
राप्रपाले सार्वजनिक बिदालाई गम्भीरतापूर्वक लिएको पनि उहाँले बताउनुभयो । डा. लोहनीले थप्नुभयो, ‘मन्त्रिपरिषद् बैठकको निर्णयमा हाम्रो पार्टीका माननीय मन्त्रीज्यूहरूको सहभागिता छैन । यसबारे बैठक बसेर पार्टी ठोस निर्णयमा पुग्छ ।’
फरक प्रसंगमा डा. लोहनीले भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका क्रममा दुई देशबीच सकारात्मक वार्ता हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, ‘जोसँग बढी सम्बन्ध हुन्छ, झगडा पनि उसैसँग हुन्छ । कतिपय कुरामा मन मिल्छ, कतिपय कुरामा मिल्दैन । मित्रहरूको बीचमा मनमा केही रहनुहुन्न । सफा दिलले वार्ता हुनुपर्छ ।’