काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नाफा भन्दा पनि सेवाको पहुँच विस्तारगरी दूरदराजका उपभोक्तालाई सेवा दिनेगरी टेलिकमले काम गरिरहको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टिपी भुसालसँग कुरा गर्दै उहाँले साथै टेलिकम प्रतिष्पर्धामा खरो उत्रँदै उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको दाबी गर्नुभएको छ ।
‘नेपाल टेलिकम राज्यको कम्पनी भएकाले यसप्रति उपभोक्ताको विश्वास बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले पनि ग्राहकको पहिलो रोजाइ नेपाल टेलिकम नै हो र टेलिफोन सेवामा करिब ५२ प्रतिशत र इन्टरनेट सेवामा ५० प्रतिशत् ग्राहक टेलिकमसँगै रहेका छन् ।’
विश्व पाचौं पुस्ता (भाइभ जी )को टेलिफोन अभ्यासमा गइरहेको सन्दर्भमा नेपालमा पनि कन्भरजेन्स टेलिफोन सेवा दिनेगरी नीतिगत सुधार आवश्यक रहेको प्रबन्ध निर्देशक अधिकारीले औंल्याउनुभयो । उहाँँले अब हुने ऐन संशोधनमा ती विषयहरु समेटिएर आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
पछिल्लो समय भ्वाइस कलभन्दा पनि डाटाको बजार बढिरहको बताउँदैै उहाँले कोरोना महामारीको कारण घरमै बसेर काम गर्नैपर्ने अवस्थाले यसको प्रयोग थप बढेको दाबी गर्नुभयो ।
(टेलिकमका प्रबन्ध निर्देशक अधिकारीसँग गरिएको कुराकानी तलको अडियो लिंकमा सुन्न सकिने छ ।)