काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार(आज) भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितमा अञ्जली चन्द, प्रीति राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो ।
खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।
खेलको ४८ औं मिनेटमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याइन् । खेलको ६९ औं मिनेटमा कप्तान प्रीति राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाइन् ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । तर, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान अंक विहीन रहेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।