काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार(आज) शेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.३५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । हिजो १ अर्ब ४७ करोडमा सीमित भएको कारोबार रकम आज बढेर ३ अर्ब नाघेको छ । आज ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।
जसमध्ये एनआईसी एसिया बैंकको सर्वाधिक १२ करोड ९२ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपि पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।
आज नेप्सेमा २१६ कम्पनीको शेयर कारोबार हुँदा २१५ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै १ कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज कारोबार भएकामध्ये ५ कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । वरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधि हाइड्रोपावर, आदर्श लघुवित्त र रिडी हाइड्रोपावरको शेयर मूल्य बढेर सर्किट लेबलमा बन्द भएको छ ।