काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री फिर्ता गरे पनि समर्थन कायमै राखेकाले सरकार अल्पमतमा नपरेको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै पौडेलले रास्वपाले विश्वासको मत फिर्ता नगरेकाले अझै पनि अत्यधिक बहुमत रहेको दाबी गर्नुभयो । उहाँले रास्वपा प्रधानमन्त्रीका कारण नभई आफ्नै निर्णयले सरकारबाट हटेको बताउनुभयो ।
माओवादी नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको कुरा गर्नु जायज भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति नराम्रो कुरा हो र ? देशको मुद्दामा सबै पार्टी मिलेर जाऊँ पो भनेका हौं त । सधैं लडाइँ, झगडा, मारमुंग्री नै राजनीति त होइन नि । यो कुरा हामीले भन्दा पनि केपीजीले भन्दा राम्रो हुन्छ । उहाँले अघि सार्नुभएको सुखी नेपाली समृद्ध नेपालको नारा सहमति नभई कसरी पूरा हुन्छ ? सिनियर नेताहरूले सहमतिको कुरा पो भन्नुपर्छ त । अप्ठ्यारो र महत्त्वपूर्ण मुद्दामा नेपाली कांग्रेसजस्तो संसद्को ठुलो पार्टीको भूमिका हुँदैन र ?’
एमालेसँग भएका सहमति बमोजिम प्रधानमन्त्री, सभामुख, उपसभामुख, सातै प्रदेशका सरकार बनेको औंल्याउँदै पौडेलले अब बाँकी विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताउनुभयो ।