काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नो पार्टीलाई सरकारमा जाने कुनै हतारो नभएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै नेता सुमनले सरकारलाई समर्थन दिएको भएपनि मन्त्री पदमा मात्र नगएको बताउनुभयो । उहाँले कोही सरकारबाट बाहिरिँदैमा सरकारमा जाने पालो आयो भन्ने नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग थप छलफल गर्न बाँकी रहेको बताउँदै एक थान मन्त्रीका लागि सरकारमा जान आतुर नभएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिँदैमा सरकार अल्पमतमा नपरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको मात्र हो । सरकारलाई उसको समर्थन त जारी छ । सरकार अल्पमत परेको छैन, परेको बखत सोच्ने कुरा हुन्छ ।’
माधवकुमार नेपालको पार्टी र जसपा सँगसँगै सरकारमा जान लागेका हुन् भनी सोधिएको प्रश्नमा सुमनले भन्नुभयो, ‘एकीकृत समाजवादीसँग एकताका लागि जसपाको छलफल भएको हो । तर अहिले हामी पृथक् पृथक् दल हौ । सरकारमा जाने वा नजाने उसको कुरा हो । तर हामी ढोक्सा थापेर बसेका छैनौँ । हामी सरकारमा जान आतुर पनि छैनौँ ।’