Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सांगीतिक बजारमा ‘के लत बस्यो’ को चर्चा, १७ दिनमै ३१ लाख बढी ‘भ्यूज’

सांगीतिक बजारमा ‘के लत बस्यो’ को चर्चा, १७ दिनमै ३१ लाख बढी ‘भ्यूज’

  • आइतवार, माघ १५ २०७९

  • 707
    SHARES

  • सांगीतिक बजारमा ‘के लत बस्यो’ को चर्चा, १७ दिनमै ३१ लाख बढी ‘भ्यूज’
    काठमाडौं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै यूट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको गजलको म्युजिक भिडियोलाई अहिलेसम्ममा ३१ लाख ५८ हजार पटक हेरिएको हो ।
     
    १ लाख १७ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ गते गायक पेलाको आफ्नै यूट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा श्रोता दर्शकको मन जित्न सफल भएका छन् ।
     
    गायक पेलाकै संगीत रहेको गजललाई डा. प्रदीपकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको गजलले यूट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । 
     
    संगीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबूक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ । 
     
    पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने श्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोर्‍याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । 
     
    गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।
     
    गायक पेलाको मात्र नभएर गजलकार डा। मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला संगीतका गुरु समेत हुन् ।
     
    उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विक्रम संवत् २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’ र सोही एल्बमको तेस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।


    आइतवार, माघ १५ २०७९०७:३४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij